शुभकालिकामा नागरिक समाज पुनर्गठन

कालीकोट — शुभकालिका गाउँपालिकामा नागरिक समाजको पुनर्गठन गरिएको छ। सेभ द चिल्ड्रेन को आर्थिक सहयोग तथा भिडिसेफ नेपाल कालीकोटको सहजीकरणमा सञ्चालित सहयात्रा तेस्रो परियोजना अन्तर्गत नागरिक समाज गठन गरिएको हो।

गाउँपालिका अध्यक्ष गोविन्द प्रसाद आचार्य को प्रमुख आतिथ्यता, उपाध्यक्ष धर्मकला शाही को विशेष आतिथ्यता तथा वडा नं. ५ का अध्यक्ष मिम बहादुर शाही लगायत अन्य अतिथिहरूको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो।

नागरिक समाजलाई सुदृढ र प्रभावकारी बनाउने उद्देश्यले १५ सदस्यीय समिति गठन गरिएको हो। गाउँपालिकाभित्रका विभिन्न वडाबाट प्रतिनिधित्व हुने गरी समावेशी ढंगले समिति चयन गरिएको जनाइएको छ।

गठित समितिको संयोजकमा कमल बहादुर शाही चयन भएका छन् भने सदस्यहरूमा टेक सुनार, ओमप्रकाश आचार्य, ऋषिराम आचार्य, हरि बिक, भद्रकला बिक, कविराज बिक, अविराज बिक, प्रेम सुनार, देवकला रोकाया, छत्र रोका मगर, डिल्ली जैसी, नन्दा नौपाने र सर्मिला बिक रहेका छन्। सदस्य सचिवमा दान बहादुर बिक चयन भएका छन्।

यसैगरी, नागरिक समाजलाई मार्गदर्शन तथा सहजीकरण गर्न सल्लाहकार समिति समेत गठन गरिएको छ। सल्लाहकार समितिको संयोजकमा सरिता खत्री चयन भएकी छन् भने सदस्यहरूमा टोपाराम चैलागाईं र मनिषा खड्का रहेका छन्।

कार्यक्रममा वक्ताहरूले नागरिक समाजको सक्रियता स्थानीय विकास, पारदर्शिता र उत्तरदायित्व प्रवर्द्धनमा महत्वपूर्ण हुने बताएका थिए। अध्यक्ष आचार्यले भने, “नागरिक समाज सशक्त भएमा स्थानीय सरकार अझ जवाफदेही र प्रभावकारी बन्छ। यसको सुदृढीकरणले विकास प्रक्रियामा जनसहभागिता बढाउनेछ।”

उपाध्यक्ष शाहीले पनि नागरिक समाजले समुदायका आवाजलाई नीतिनिर्माण तहसम्म पुर्‍याउने भूमिका खेल्ने उल्लेख गर्दै यसको प्रभावकारी सञ्चालनमा सबैको सहकार्य आवश्यक रहेको बताइन्।

सहयात्रा तेस्रो परियोजनाअन्तर्गत गरिएको यो पहलले शुभकालिकामा सुशासन, समावेशिता र नागरिक सहभागिता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया