तिला गाउँपालिका ३ मा पक्की सिँचाइ कुलो निर्माण, किसानलाई राहत

रमेश सुनार
जुम्ला : तिला गाउँपालिका वडा नं. ३ मा पक्की सिँचाइ कुलो निर्माण सम्पन्न भएपछि स्थानीयवासीमा खुसी छाएको छ। विगत लामो समयदेखि माटोको कुलोबाट सिँचाइ गर्दै आएका यहाँका कृषकहरू यस वर्षदेखि भने सहज र दिगो सिँचाइ सुविधाबाट लाभान्वित हुने भएका छन्।
स्थानीय पूर्वाधार सहयोग कार्यक्रम (LISP) र गाउँपालिकाको साझेदारीमा कुडारि देखि भर्सिला मडारि जक्ता खाेलि सम्म ग्रामीण कृषि सडक स्तरोन्नति आयोजना अन्तर्गत १७५ मिटर पक्की सिँचाइ कुलो निर्माण गरिएको हो। उक्त आयोजना निर्माणमा करिब ५० लाख रुपैयाँ लागत लागेको निमित्त प्रमुख प्रशासकीय अधिकृत श्री सुरेन्द्र सिहं साउदले जानकारी दिए। उनका अनुसार आयोजनाअन्तर्गत मेसनरी वाल, ड्राइवाल लगायतका संरचना निर्माणसँगै पक्की कुलो निर्माण गरिएको हो।
वर्षेनी माटोको कुलोबाट पानी ल्याउँदा खेतमा पुगेका समस्याहरू अब हट्ने विश्वास स्थानीयमा छ। अब ढुक्कसँग सिँचाइ गर्न पाउने भएको छ। साउदले भने, “यस कुलोबाट करिब २ हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने अपेक्षा गरिएको छ, जसले कृषि उत्पादनमा समेत उल्लेखनीय वृद्धि हुने अनुमान गरिएको छ।

उक्त योजना ७ सदस्यीय महिला उपभोक्ता समितिद्वारा सफलतापूर्वक निर्माण सम्पन्न गरिएको हो। यसले समाजमा महिलाको सक्रिय भूमिका र नेतृत्व क्षमताको उदाहरण प्रस्तुत गरेको वडा अध्यक्ष धन बहादुर शाहीले बताए। “महिलाले केही गर्न सक्दैनन् भन्ने सोचलाई यहाँको उपभोक्ता समितिले गलत सावित गरिदिएको छ उनले भने। योजना निर्माणका क्रममा ६५ जना कामदारहरू संलग्न रहेका थिए, जसमध्ये ४२ जना महिला थिए। यसले स्थानीय तहमा महिला रोजगारी सिर्जनामा समेत महत्वपूर्ण योगदान पुर्‍याएको उपभोक्ता समितिका अध्यक्ष मनकाेइला शाहीले जानकारी दिइन्। हिउँदको समयमा रोजगारीको अभावमा भारततर्फ पलायन हुने स्थानीयहरू यसपटक भने गाउँमै रोजगारी पाउँदा उत्साहित देखिएका छन्।
कामदारहरूलाई बैंक खातामार्फत रकम भुक्तानी गरिने भएकाले पारदर्शिता र सुशासनमा समेत टेवा पुगेको निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिहं साउदले बताए। महिला श्रमिक रबिना सार्किले भनिन् अहिले नगदमा ज्याला पाइन्थ्यो, कहिलेकाहीँ ढुक्क हुन सकिँदैनथ्यो, अहिले बैंक खातामा पैसा आउने भएकाले सुरक्षित महसुस भएको छ। स्थानीयवासीले यस्ता विकास आयोजनाहरूले कृषि उत्पादनमा वृद्धि, रोजगारी सिर्जना तथा महिला सशक्तीकरणमा महत्वपूर्ण भूमिका खेलेको बताएका छन्। साथै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन सरोकारवाला निकायसँग माग गरेका छन्।

तपाईको प्रतिक्रिया