कालिकोट जिल्ला अस्पताल कालिकोटमा जटिल अवस्थाकी २९ वर्षीया गर्भवती महिलाको आकस्मिक शल्यक्रियामार्फत सफल प्रसूति गराइएको छ । हाल आमा र नवजात शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ । रास्कोट नगरपालिका–९ फुकोट निवासी मिमसरा तिरुवालाई प्रसूति समस्या देखिएपछि रास्कोट अस्पतालबाट जिल्ला अस्पताल कालिकोटमा रिफर गरिएको थियो । गर्भवतीको बच्चा जन्मिने मिति कटेको १० दिन भइसकेको ब्यथा चले पनि पाठेघरको मुख नखुलेको अवस्था रहेको बताएको छ ।


डा. दर्शनराज पाण्डेका अनुसार भिडियो एक्सरेपछि जटिलता देखिएपछि तत्काल शल्यक्रिया गरिएको बताउनु भयो । शल्यक्रियाका क्रममा बच्चाको घाँटीमा साल (नाल) बेरिएको बच्चाले पेटभित्रै दिशा (मेकोनियम) गरेको तथा सालमा रगत जमेको (एब्रुसियो प्लासेन्टा) अवस्था भेटिएको थियो। यस्तो अवस्थामा ढिला भएको भए आमा र शिशु दुवैको ज्यान जोखिममा पर्न सक्थ्यो उहाँले बताउनु भयो । समयमै गरिएको शल्यक्रियाका कारण आमा र शिशु दुवै सुरक्षित रहेको अस्पतालले जनाएको छ। साथै, समयमै रिफर गर्ने रास्कोट अस्पतालका स्वास्थ्यकर्मी तथा उपचारमा सहयोग गर्ने सबैप्रति अस्पतालले धन्यवाद व्यक्त गरेको छ।




तिलाप्रेस । २१ चैत्र २०८२, शनिबार १७:४३