शुभकालिकामा मनाईयाे विश्व पानी दिवस

  • छत्र राेका मगर 

कालिकोट — “पानी छैन त जिन्दगानी छैन” भन्ने सन्देशलाई आत्मसात् गर्दै विश्व समुदायसँगै शुभकालिका गाउँपालिका वडा नं. ५ मा पनि विश्व पानी दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ भव्य रूपमा मनाइएको छ। सन् १९९३ देखि प्रत्येक वर्ष मार्च २२ मा मनाइँदै आएको यस दिवसले सुरक्षित र स्वच्छ खानेपानीको महत्व उजागर गर्ने उद्देश्य राखेको छ।

“जहाँ पानी बग्छ, त्यहाँ समानता बढ्छ” भन्ने मूल नाराका साथ एभरेष्ट क्लब दैलेखको आयोजना तथा हेल्भेटास नेपालको आर्थिक सहयोगमा सम्पन्न उक्त कार्यक्रममा पानी र मानव जीवनबीचको अटुट सम्बन्धलाई विशेष रूपमा जोड दिइएको थियो।

कार्यक्रम शुभकालिका गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष मिम बहादुर शाहीको सभाअध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा स्थानीय नागरिक, बालबालिका, युवा, नागरिक समाज तथा पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रम अन्तर्गत सहभागीहरूले बजार क्षेत्रमा नारा जुलुस प्रदर्शन गरेका थिए। “स्वच्छ पानी, स्वस्थ जीवन”, “पानी बचाऔं, भविष्य जोगाऔं”, “सबैका लागि सुरक्षित खानेपानी” जस्ता नाराहरू लगाउँदै बजार परिक्रमा गरिएको थियो। जुलुसले पानी संरक्षण र सरसफाइप्रति स्थानीयवासीमा व्यापक जनचेतना फैलाएको थियो।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष शाहीले पानी मानव जीवनको आधारभूत आवश्यकता भएको उल्लेख गर्दै सबै नागरिकलाई स्वच्छ र सुरक्षित खानेपानीको पहुँच सुनिश्चित गर्नु राज्यको प्रमुख दायित्व भएको बताए। उनले भने, “पानीको उचित संरक्षण र व्यवस्थापनमा सबैको साझा प्रयास आवश्यक छ। पानीको समान पहुँचले मात्र समाजमा वास्तविक समानता र दिगो विकास सम्भव हुन्छ।”

कार्यक्रमका क्रममा पानी संरक्षण, सरसफाइ तथा सुरक्षित खानेपानीको प्रयोगबारे विभिन्न सचेतनामूलक गतिविधिहरू सञ्चालन गरिएका थिए। सहभागीहरूले पानीको दिगो उपयोग र संरक्षणमा सामूहिक प्रतिबद्धता जनाएका थिए।

उक्त कार्यक्रमले विश्व पानी दिवसको महत्वलाई स्थानीय स्तरमा थप सशक्त बनाउँदै सबैका लागि सुरक्षित र स्वच्छ खानेपानी सुनिश्चित गर्न सामूहिक पहलको आवश्यकता औंल्याएको छ।

तपाईको प्रतिक्रिया