कालीकोट : देशमा विद्यमान संकटपूर्ण अवस्था तथा २०८२ भदौ २३ र २४ गते सम्पन्न जेन्जी (Gen-Z) आन्दोलनपछि सिर्जना भएको जटिल राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी) र देशभक्त समाज पार्टीबीच चुनावी एकता कायम भएको बताएको छ । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कालीकोट जिल्लामा दुवै पार्टीबीच सहमति भएको हो। सहमतिअनुसार नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का उम्मेदवार खड्ग बहादुर विश्वकर्मा (क. प्रचण्ड सी) लाई साझा उम्मेदवारका रूपमा अघि सारिएको हाे।


दुवै दलले संयुक्त रूपमा चुनावी गतिविधि अगाडि बढाउने निर्णय गरेको जनाइएको छ। साझा उम्मेदवारको चुनाव चिन्ह गुलाफको फूल रहनेछ। उक्त अवसरमा जारी अपिलमार्फत कालीकोट जिल्लाका सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई गुलाफको फूल चिन्हमा मतदान गरी अत्यधिक बहुमतले साझा उम्मेदवारलाई विजयी गराउन आग्रह गरिएको छ। सम्झौतामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का उम्मेदवार तथा पार्टी प्रवक्ता र देशभक्त समाज पार्टीका महासचिव भैरव बहादुर शाही ले हस्ताक्षर गरेका छन्।




तिलाप्रेस । १२ माघ २०८२, आईतवार १७:४४