कमल कुमाल कालिकोट : ग्रामीण विकास तथा पर्यावरण संरक्षण मञ्च (भिडिसेफ) नेपाल कालिकोटले आ.व. २०८१/८२ को सामाजिक लेखापरीक्षण कार्यक्रम सम्पन्न गरेको छ। सुशासन, पारदर्शिता र जवाफदेहीता भिडिसेफको प्रतिबद्धता भन्ने मूल नारासहित सम्पन्न कार्यक्रममा संस्थाले विगतका वर्षमा गरेका गतिविधि, खर्च तथा उपलब्धि सार्वजनिक गरेको हो।
कार्यक्रममा भिडिसेफ नेपाल कालिकोटकी अध्यक्ष कल्पना रावल बोगटीकाे सभाअध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयाल काे प्रमुख आतिथ्यता रहेकाे थियाे । कार्यक्रममा नेपाली काँग्रेसका नेता मिना बहादुर बोगटी शुभकालिका गाउँपालिका अध्यक्ष गाेविन्द्र आचार्य,प्रहरी प्रमुख डिएसपी टेक बहादुर रावत, अनुसन्धान अधिकृत ठाकुर केसी, सामाजिक विकास कार्यालय कालिकोटका प्रमुख अविराज शाहि गैर महासंघ समितिका अध्यक्ष दिलीपकुमार शाही विभिन्न क्षेत्रका प्रमुख तथा प्रतिनिधि जिल्लामा क्रियाशील पत्रकार लगायतको उपस्थिति रहेको थियो।
भिडिसेफ नेपाल कालिकोटका कार्यक्रम व्यवस्थापन राजेन्द्र सहकारीले सामाजिक लेखापरीक्षण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै भिडिसेफ नेपाल कालिकोटले स्थानीय सरकारसँग सहकार्य गर्दै वालबालिका किशोर–किशोरी र समुदायमैत्री कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गरिरहेकाे उहाँले जानकारी दिनुभयो । बालअधिकार संरक्षण, बालविवाह रोकथाम, किशोरी स्वास्थ्य सचेतना र वातावरण संरक्षणजस्ता क्षेत्रमा प्रभावकारी रुपमा काम गरिरहेकाे समेत सहकारी ले बताए ।

कार्यक्रममा बाेल्दै अध्यक्ष रावल ले हामीले विगतमा गरेका कामहरू पारदर्शिता र जवाफदेहीतासहितका प्रस्तुत गरेकाे र आगामी दिनमा अझै बलियो योजनासहित अगाडि बढ्दै वालबालिका र किशोर–किशोरीको अधिकार र भविष्यलाई सुरक्षित बनाउन योगदान दिने मुख्य लक्ष्य रहेकाे समेत उहाँले बताउनु भयाे ।कार्यक्रममा सामाजिक लेखापरीक्षण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै वार्षिक बजेट खर्च, गतिविधि तथा उपलब्धिहरूको विस्तृत विवरण सार्वजनिक गरिएको थियो। सहभागी सरोकारवालाहरूले प्रतिवेदन पारदर्शी र प्रभावकारी भएको उल्लेख गर्दै आगामी दिनका लागि समेत शुभकामना दिएका छन् ।
सहयात्रा तेश्रो परियोजनाले ग्रामीण तथा जोखिममा रहेका बालबालिकाका शिक्षा, संरक्षण, यौन तथा प्रजनन स्वास्थ्य र संकट सामना गर्ने शक्ति र मौलिक अधिकारलाई सुनिश्चित गर्दै यस परियोजनाले सरकारी संरचना र संस्थालाई थप जिम्मेवार र जवाफदेही बनाई बालअधिकारको सुनिश्चिततामा योगदान पुऱ्याइ रहेको छ । यसले बालबालिकालाई हिंसा र हानिकारक प्रथाबाट सुरक्षित गर्दै उनीहरूको यौन तथा प्रजनन स्वास्थ्य अधिकारलाई पहिलो प्रथामिकतामा राखेकाे छ
तिलाप्रेस । २२ भाद्र २०८२, आईतवार १९:३९