छत्र रोका मगर (धमका)
कालिकोट जिल्ला तिलगुफानगर पालिका वडा नं ७ का रमेश शाही ठकुरी (रउतेलो) हाल भोजपुर नगरपालिका–०६, भोजपुर !
“आश बोकेर सहर छिरेको हुँ ”
बाला पनमै छोडियो गाउँघर
जन्मथलो बन्यो एक मायाँको टोकरी
म जन्मेको घरले,
बर्षमा एक पटक मेरो अनुहार देख्छ ।
भन्दो हो “ए मुर्ख दुख पर्दा मेरो काखमा खेल्ने तिमी
आज पाखुरा लागेपछी पछाडी फर्किन्नौ?“
रात दिन रत्यौली गर्ने तिमी,
आज कसको आगनमा रत्यौली गर्छौ ?
टाढैबाट नियाल्छु मेरो गाउँ,
मायाँ त औधी लागेर आउँछ
माटोले पोतेको, छाना टालेको घर छ
धमिराले खाएका टोट्के धुरा बलाँसा छन्
रातो माटो सेतो कमेरो नअडिने भित्ता छन्
भित्ताका चारै तिर भ्वाङ परेका छन्
मुसाको बास भ्यागुतोको ओडार बनेको छ
खरले छाएको छाना,
चराको गुँड बनाउने ओथारो बनेको छ
चुलो चौको ममझेरी,
मुसाको ढाड सेक्ने थलो बनेको छ
घरको आँगन,
भँगेरा र काग जुध्ने अड्डा बनेको छ
स्याउको रुखमा,
जुरेलिले घरजाम बसालेको छ रे ,

बाटो छुने स्याउको हाँगा काट्ने म हुँ
काटेको पनि होइन भन्दै ढाँट्ने म हुँ
गाउँमा हुँदा,,,,
कहिले बनियो काँक्रा चोर,
कहिले बनियो स्याउ चोर,
अब आरु ,ओखर,ऊखु ,पुलम चोर्ने
जो कोही भए पनि,
बारम्बार चोरको श्रेय मलाइ दिइन्थ्यो ।
यसरी चोरको ट्याग भिरेर
गाँउ भर डुलि रहन्थेँ ।
त्यही बेलामा नजिकैका डाँडापाखा,
खोला, खोल्सी, टारी,छहारी घुमफिर गर्ने भएर होला ,,
अचेल सिङ्गो क्षेत्र घुम्ने घुमन्ते फिरन्ते भएको छु ।

हेर्दा हेर्दै बालापन सकियो
बयस्क लागियो
आज ब्यवस्था गर्नेहरुलाइ
एकदिन पछुताउनुे बनाउनुछ
साथ दिनेको अँझ दरिलो हतियार बन्नुछ
अहिले सकेजति अथाह सत्रु कमाउनु छ
सफलतापछि त , मित्र बनिहाल्छन् नि
आज एक गाँसमा रमाउने म ,
भोलि एकमा दुइ गाँस थपेर दिने हुनुछ
भन्दै घरबाट बाहिरिएको पनि
आज दशौ बर्ष पुगेछ ।

म आफ्नो हालत फेर्न,
घरपरिवारको सपना पुरा गर्न,
आमाले लाएको बर्ष पुरानो धोती फेर्न,
बाबाले लगाएको चुर्याइनो कोट फेर्न,
बैनीको कपाल बाँध्ने फेर्याको डोरी फेर्न,
भाइको सेतो सटमा कालो धब्बा बसेका छन्
एक सर्को कपडा फेर्न,
आफ्ना कैयौ इच्छा चाहाना फेर्न,
बिटो पैसा कमाउने आशले
म घर छाडेर सहर छिरेको हुँ
म सिङ्गो आस बोकेर सहर छिरेको हुँ ।
रमेश शाही ठकुरी (रउतेलो)
तिलागुफा नगरपालिका–०७, कालिकोट ,हाल भोजपुर नगरपालिका–०६, भोजपुर




तिलाप्रेस । ६ आश्विन २०८०, शनिबार १४:१३