खाँडाचक्र नगरपालिकाका नगर प्रमुख कमल बहादुर शाही खानेपानीको पाइप बोकेर आफैं जनताको घरदैलोमा पुग्नुभएको छ ।नगरबासीका माग र आवश्यकतालाई बुझ्दै नगर प्रमुख शाही आइतबार खानेपानीको पाइप बोकेर आफैं २ नम्बर वडाको दलित बस्ती आहालामा पुग्नुभएको हो ।
नगर प्रमुख शाहीले १४र १५ घरदुरी रहेको आहालामा खानेपानीको समस्या भएको गुनासो आएपछि आफैं पाइप बोकेर जानुभएको थियो । उहाँले तत्काल खानेपानीको समस्या समाधानको लागि पाइप उपलब्ध गराएको र विस्तारै एक घर धारा बनाउने नगरको योजना रहेको बताउनुभयो ।उहाँले उत्पीडित समुदाय आफ्नो पहिलो प्राथमिकता रहने भन्दै नगर सरकारले बनाउने हरेक विकासे योजनाहरू दलित लक्षित हुने पनि बताउनुभयो ।
भेटघाटको क्रममा नगर प्रमुख शाहीले खरका छानोले आगलागीको जोखिम हुने भएकोले खरको छानामुक्त नगर बनाइरहेको र खरका छाना भएका घरधनीले नगरमा आएर सेवा लिन पनि आग्रह गर्नुभयो ।नगर प्रमुख शाहीले खरको छाना भएको घरहरुको तथ्यांक संकलन गरि यो वर्ष चार सय घररूमा जस्ताको छाना हाल्ने काम भइरहेको बताउनुभयो ।नगर प्रमुख शाहीले नागरिकलाई स्थानीय सरकारको अनुभूति दिलाउन घरदैलोमै पुगेर सेवा प्रवाह सँगै नगरवासीका गुनासो सुन्ने र समस्या बारे बुझने गरेको पनि बताउनु भयो ।

तिलाप्रेस । २२ जेष्ठ २०८०, सोमबार २०:४९