रास्कोटमा तेस्रो मेयर कप भव्य रूपमा सुरु

कालीकोट जिल्लाकाे रास्कोट नगरपालिकामा खेलकुदको विकास स्थानीय प्रतिभाको पहिचान तथा अन्तरपालिका स्तरीय खेलकुद सम्बन्ध विस्तार गर्ने उद्देश्यसहित तेस्रो मेयर कप तथा क्रिकेट प्रतियोगिता सुरु भएको छ।रास्कोट नगरपालिकाका नगर प्रमुख धर्मराज शाही (पोषण) ले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो।

आगामी कात्तिक २० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न पालिकाका खेलाडीहरूको सहभागिता रहेकाे आयोजकले जनाएको छ। उद्घाटन समारोहमा स्थानीय नेता जनप्रतिनिधि तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्दै खेलकुदले युवाहरूमा अनुशासन एकता र आपसी सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।विगत तीन वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको मेयर कप प्रतियोगिताअन्तर्गत यस वर्ष क्रिकेट तथा फुटबल प्रतियोगिता आयोजना गरिएको छ। क्रिकेटतर्फ प्रथम हुने टिमले रु. १ लाख ५० हजार र द्वितीय हुने टिमले रु. ६० हजार पुरस्कार प्राप्त गर्नेछन्।
त्यस्तै फुटबलतर्फ प्रथम पुरस्कार रु. ८० हजार र द्वितीय पुरस्कार रु. ५० हजार निर्धारण गरिएको छ। दुवै विधाका विजेता तथा उपविजेता टिमलाई ट्रफी र मेडल प्रदान गरिनेछ भने उत्कृष्ट बलर तथा उत्कृष्ट गोलकर्ता खेलाडीलाई समेत ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगिताले रास्कोट सहित आसपासका पालिकामा खेलकुद गतिविधि प्रवर्द्धन गर्नुका साथै स्थानीय तथा अन्तरपालिका स्तरका प्रतिभावान् खेलाडीलाई आफ्नो खेल कौशल प्रदर्शन गर्ने अवसर प्रदान गर्ने विश्वास गरिएको छ।

तपाईको प्रतिक्रिया