२० भदौ कालिकोट, आसन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि कालिकोटमा मतदाताको सङ्ख्या ८४ हजार बढी हुने भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार आगामी मङ्सिर ४ गतेका लागि घोषणा गरिएको प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा कूल मतदाताको सङ्ख्या ८४ हजार ९ सय ४ हुने भएको हो ।
कालिकोटमा गत साउन १९ गतेसम्म दर्ता भएको फोटोसहितको मतदाता नामावली अनुसार उक्त सङ्ख्या कायम रहेको छ ।यद्यपि,दावी विरोधसहित अद्यावधिकको कार्य हुन बाँकी रहेकाले मतदाताको सङ्ख्या केही घट्नसक्ने जिल्ला निर्वाचन कार्यालय कालिकोटका सुचना अधिकारी धन वहादुर मल्ले बताउनुभयो ।
जिल्ला निर्वाचन अधिकारी नन्दराम चौलागाईले पछिल्लो तथ्याङ्कमा महिला भन्दा पुरुष मतदाताको सङ्ख्या चार हजार बढी रहेको पनि जानकारी दिनुभयो । उहाँका अनुसार कुल मतदातामध्ये ४४ हजार ६१८ पुरुष छन् भने ४० हजार २९० महिला मतदाता रहेका छन् । गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा कालिकोटमा ८० हजार ४१६ मतदाता रहेका थिए । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनपछि गत असार १ गतेदेखि साउन १९ गतेसम्म मतदाता नामावली दर्ता तथा सङ्कलन गरेको थियो ।

करिव डेढ महिनाको अवधिमा तिन हजार ६७८ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । पछि नयाँ दर्ता भएका समेत गरी जिल्लाको प्रदेशसभा निर्वाचन क्षेत्र नं. (क) मा ३७ हजार १३५ र क्षेत्र नं. (ख) मा ४७ हजार ७६९ मतदाता भएका छन् । जिल्ला निर्वाचन कार्यालयल कालिकोटले नामावली अद्यावधिक अन्तर्गत त्रुटी सच्याउन र मृत्यु भएकाहरुको नाम हटाउने कार्यमा सहयोग गर्न आग्रह गरेको छ । यहि भदौ १३ देखि १५ गतेसम्म प्रकाशित मतदाता नामावलीउपर दाबी–विरोध, भदौ १३ देखि १७ गतेसम्म उजुरीउपर मतदातालाई प्रमाणसहित सफाइका लागि समय तोकिएको छ । यस अवधिमा नयाँ नाम दर्ता र स्थानान्तरण गर्न भने पाइने छैन ।
निर्वाचन अधिकारी नन्दराम चौलागाईले नामावलीमा नाम दर्ता रहेको र मङ्सिर ३ गतेसम्म उमेर १८ वर्ष पूरा हुने मतदाताले मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी हुन पाउने पनि जानकारी दिनुभयो । यसअघि २०७४ सालको प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा कालिकोट जिल्लामा ६४ हजार ९६१ मतदाता रहेका थिए ।
तिलाप्रेस । २० भाद्र २०७९, सोमबार १८:४६