फलफुलका बेर्ना बिक्री नभएपछि किसान चिन्तामा

पुनम वि.सी.
सुर्खेत, २३ असार ।
स्थानीय तह तथा प्रदेश सरकारले कर्णालीमा फलफुलका बेर्ना आयात गर्दा कमिसनको खेलले गर्दा स्थानीय उत्पादन प्राथमिकतामा नपरेको किसानको आरोप छ । सुर्खेतको चिङ्गाड गाउँपालिका–१ का किसान पुर्णबहादुर बुढामगरलाई फलफलुका बेर्ना बिक्रि नभएपछि चिन्ताले सताउन थालेको छ ।
यसअघि कर्णालीमा संधै फलफलुका बेर्नाको माग भईरहने र अभावसमेत हुने गरेको देखेका उनले आफ्नो कृषि फार्ममा उत्पादित फलफुलका वेर्ना बिक्रि वितरण नभएको बताउँदै उनले दुखेसो पोखेका हुन् ।
पूर्णले भने, ‘यसअघि हामीले ल्याउनेबेला जहिले पनि अभाव नै हुन्थ्यो । सरकारी निकायबाट हामीले बगाउथ्यौँ । मगाएको अनुसार संख्यामा पनि बेर्ना पाउन धौ–धौ हुन्थ्यो । तर अहिले भने हामी आफैले उत्पादन गरेका फलफुलका बेर्ना कहाँ बिक्रि गर्ने भन्ने पिरले सताएको छ ।’
चिङ्गाड गाउँपालिका–१ को प्यारकुलेमा पूर्णको पूर्ण कृषि फार्म छ । करिव १५ रोपनी क्षेत्रफलमा पूर्णले व्यवसायीक खेती गर्न थालेको बर्षौ भईसकेको छ । उनले यस कृषि फर्म २०७१ सालदेखि सञ्चालनमा ल्याएका हुन् । फलफुलका बेर्ना उत्पादन तर्फ भने यो उनको पहिलो पटक हो ।
उनले भने, ‘यसअघि मैले फर्मको लागि बिरुवा आयात मात्र गरेको छु । यसपाली भने उत्पादन नै गरौँ भनेको बिक्रि नभएर हैरानै भयो ।’ पूर्णसँग अहिले फार्ममा २५ हजार बोट कागतीका बेर्ना उत्पादन भईसकेका छन् । त्यसैगरी २५ हजार बोट जुनारका बेर्ना र चार हजारबोट सुन्तलाका बेर्ना पूर्णले फर्ममा उत्पादन भई बिक्रि वितरण नभईकन थन्किएका छन् ।
यसअघि उनले उत्पादन भएका केहि बोट बेर्ना बिक्रि समेत गरेको बताए । उनले भने, ‘दुई सय बोट जुनार र तीन हजार बोट कागतीका बेर्ना मैले बिक्रि गरिसकेको छु । तर उत्पादनको धेरै भाग अझै फर्ममा बिक्रि नभएरै रह्यो ।’ उनले यसपाली कुल २८ हजार बोट कागतीको बेर्ना उत्पादन गरेका थिए ।
उनले भने, ‘सुर्खेतको कृषि विकास निर्देशनालयले हाम्रोबाट कागतीको बेर्ना खरिद गर्नुभयो । यसैगरी केहि व्यक्तिगत फर्महरुले समेत बेर्ना खरिद गरी लिनुभएको छ । तर उत्पादनको करिव ९० प्रतिशत बेर्नाले बजार पाउन सकेको छैन ।’
बजार व्यवस्थापनका लागि आफुहरु कमजोर रहेको उनी बताउँछन् । अहिलेको समयमा कर्णालीका प्राय धेरै स्थानीय तहले कागतीका बेर्ना आयात गर्ने समय हो । बर्षेनी रुपमा स्थानीय तहले कागती लगायतका फलफुलका बेर्ना खरिद गरी स्थानीय स्तरमा बाँड्ने गर्छन् । तर पूर्णको कृषि फर्म र कर्णालीका स्थानीय तह विच समन्वयको बाटोको विकास नभई दिँदा भने अहिले उनको उत्पादनले बजार पाएको छैन । उनले भने, ‘कर्णालीमा यति धेरै संख्यामा बाहिरबाट बेर्ना आएको देखिन्छ । तर हाम्रोबाट कहिल्यै खरिद भएन । फेरी हामी कृषक पनि उहाँहरु सामु पुग्न सकेका छैनौँ ।’
पूर्णको कृषि फर्ममा अहिले दुई सय बोट हाराहारीमा जुनार र एक सय ‘घार’ (झ्याङ, यसका करिव एक सय बोट हुन्छ) अलैची छ । विगत चार बर्ष यता फार्ममा बार्षिक यता उनको फर्ममा जुनार र अलैची उत्पादन समेत भईरहेको छ ।
त्यसैगरी कालिकोटको खाडाचक्र नगरपालिका–११ स्थित जनचेतना निजी फलफुल नर्सरीले सुन्तला उत्पादनका लागि राखिएका करिब १० हजार बेर्ना नष्ट गरेको छ । वि.सं. २०५२ सालमा स्थापना भएको उक्त जनचेतना निजी फलफुल नर्सरीका सञ्चालक जीवन गिरीले भने, ‘बिक्रि हुन छाडेपछि हामीले सुन्तलाको कलमीका लागि राखिएका १० हजार बेर्ना नष्ट गर्नुपर्ने बाध्यता आएको छ ।
कालिकोटमा यस नर्सरी स्थापना भई बेर्ना उत्पादन गर्न थालेको वर्षौ भईसकेको छ । गिरीले भने, ‘हामीले बर्षादेखि फलफुलका बेर्ना उत्पादन गर्न थालेका छौँ । तर स्थानीय तहहरुले भने अहिले आएर हाम्रा उत्पादन खरिद तर्फ ध्यान दिन छाडेका छन् ।’
गिरी ‘आईएससी एजी’ अध्ययन गरेका किसान हुन् । उनले भने, ‘यही क्षेत्रमा राम्रो गर्ने उद्देश्यले बुवाआमाले सुरु गरेको व्यवसायलाई मैले निरन्तरता दिएको छु । तर यहाँ स्थानीय तहले नै हाम्रो उत्पादनमा चासो नदेखाएको देख्दा दुखित महशुस हुन परेको छ ।’
गिरीको नर्सरीमा अहिले सुन्तलाका १० हजार बोट कलमी गरिएका बेर्नाहरु बिक्रि नभएर थन्किएका छन् । कलमीका लागी तयार भएका वन सुन्तलाका करिव १० हजार बोट उनले मंगलबार नष्ट गरिसकेका छन् । उनले भने, ‘स्थानीय तह भन्दा अघि बरु सानो संख्यामा भएपनि हाम्रा उत्पादन बिक्रि भईरहेका थिए । अहिले कमिसनको खेलले अन्य प्रदेशबाट नै बेर्ना आयात गरिदा यहाँका उत्पादनले बजार नभएको हो ।’
स्थानीय तह तथा प्रदेश सरकारले कर्णालीमा फलफुलका बेर्ना आयात गर्दा कमिसनको खेलमा स्थानीय उत्पादनलाई प्राथमिकतामा नराखेको किसानको आरोप छ । उनी भन्छन्, ‘कमिसनको चक्करमा यस्ता गतिविधिले स्थानीय उत्पादन प्राथमिकतामा परेका छैनन् । यहाँका किसानले बिरुवा उत्पादन गर्न नजानेको भन्ने पनि छैन । यसरी स्थानीय उत्पादनलाई प्राथमिकतामा नराखिँदिदा कर्णालीका किसान यस क्षेत्रबाट पलायन हुन सक्ने अवस्था नआउला भन्न सकिन्न ।’
त्यस्तै कालिकोटको खाँडाचक्र नगरपालिका–११ स्थित कोपिला फलफुल नर्सरीमा पनि उत्पादित फलफुलका बेर्ना बिक्रि नभएपछि नष्ट गर्नुपर्ने अवस्था आएको छ । कोपिला फलफुल नर्सरीकी सञ्चालक बिरु भारती भन्छिन्, ‘विगत लामो समयदेखि हामी नर्सरी व्यवसायमा आबद्व छौं । तर हालको समयमा भने हाम्रा उत्पादनले बजार पाउन छाडेका छन् ।’
उनले भनिन्, ‘यो समय विरुवा बिक्रि वितरणको समय हो । कर्णालीका लागि हाम्रो ठुलो बजार भनेकै स्थानीय तह तथा प्रदेश सरकारका बेर्ना वितरण सम्बन्धि कार्यक्रमहरु हुन् । तर विचौलिया तन्त्रले हामीलाई ठूलो असर पारेको छ ।’ उनको नर्सरीमा कलमी सुन्तला, कागती, जुनार गरी करिब चार हजार फलफुलका बेर्नाले अझै बजार पाउन सकेका छैनन् । उनले भनिन्, ‘अब त्यो फाल्नु पर्ने भएको छ ।’

तपाईको प्रतिक्रिया